Thursday, December 14, 2017

नेपाल मै पहिलो पटक मिडिया फेस्टिभल हुने

नेपाल मै पहिलो पटक मिडिया फेस्टिभल हुने
केके मानन्धर, २८ मंसीर (9851086563)

आउँदो पुस २२ गते शनिबार मिडिया फेस्टिभल हुने भएको छ । समावेशी संचार तथा मातृभाषा पत्रकारिता  प्रबर्द्धनका  लागि आयोजित फेस्टिभलको लागि बिहिबार तयारी भेला बसेको हो । 

काठमाडौंको नेपाल पर्यटन बोर्डस्थित सभा हलमा सम्पन्न भेलाले नेवाः पत्रकार राष्ट्रिय दबू अन्तर्गतको सचिवालय समेत बनाएर जिम्मेवारी बाँडफाँड गरेको छ । मेला ललितपुरको दरबार क्षेत्रस्थित भण्डारखाल बगैंचामा हुँदैछ । संचार क्षेत्र सम्बन्धिका प्रतिनिधि, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका स्थानिय जनप्रतिनिधि, समाजसेवी, सरकारी पक्षसँगको समन्वयनमा कार्यक्रम गर्न लागेको छ ।

“संचार, संचारकर्मी तथा पत्रकारिता सम्बन्धिका सम्पूर्ण पक्ष समेतेर अन्तरक्रिया गर्दै यस क्षेत्रलाई थप सुदृढ बनाउनको लागि फेस्टिभल आयोजना गर्न लागेका छौं ।” मेला आयोजक समितिका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले बताए । मेलामा संचारगृह तथा पत्रकारिता सम्बन्धिका विभिन्न आयामलाई देख्न, बुझ्न तथा अध्ययन गर्न सकिने उहाँको भनाई छ । 

बिहानै देखि शुरु भएर दिनभर हुने मेलामा फरक खालका संचार गृहका प्रदर्शनी स्टल, प्रकाशन गृहका पत्रपत्रिका, सांस्कृतिक प्रस्तुती हेर्न सकिने सह–संयोजक राजेश बज्राचार्यले बताए । मेलालाई थप आकर्षक तथा विशेष बनाउन पत्रकारिता सम्बन्धिका अध्ययन /अध्यापनका सामग्री उपलब्ध गराउने देखि फरक खालका संचारगृहमा आवद्ध संचारकर्मीहरुको अन्तक्र्रियालाई जोड दिने उनले बताए । 

हुन पनि नेपाल मै पहिलो पटक हुन लागेको यो मेलाले नेपाली संचार क्षेत्र बुझ्न चाहनेहरुका लागि कोशे ढुङ्गा सावित हुनेमा आयोजक संस्थाले दाबी गरेको छ । पत्रकार दबूले मेलाको लागि ईमेजकर्मी विराजकाजी राजोपाध्यायलाई स्टल व्यवस्थापन, केके मानन्धरलाई संचार, बुलेटिन तथा डायरीको लागि लहनाका प्रकाशक नृपेन्द्रलाल श्रेष्ठ तथा सांस्कृतिक पक्ष हेर्ने जिम्मेवारी सुरजवीर बज्राचार्यलाई दिएको छ । 

संचारकर्मीको पेशागत हकहित, श्रमजीवी पत्रकार ऐन लागु गराउने देखि संचार क्षेत्रको समग्र पक्षमा काम गर्दै आएको संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले २५ जिल्लामा आफ्नो शाखा बिस्तार गरेको छ । राजधानी तथा जिल्लामा सक्रिय संचारकर्मीहरुलाई सहभागि गराइने कार्यक्रमको लागि १३ लाखको बजेट विनियोजन गरेको छ । मेलामा आम नागरिकहरुको बाक्लो उपस्थिति गराउने विषयमा पनि छलफल भएको थियो ।





No comments:

Post a Comment