Tuesday, August 21, 2018


आँसु नै अभिव्यक्तिको सशक्त माध्यम : पद्मरत्न तुलाधर

साउन ४, केके मानन्धर


पूर्वमन्त्री रघुजी पन्त, पूर्व सांसद् लक्ष्मीदास मानन्धर, नागरिक अगुवा पद्मरत्न तुलाधर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ

नागरिक अगुवा पद्मरत्न तुलाधरले पत्रकारिता क्षेत्रमा दिनुभएको योगदानको विषयमा चर्चा गरिएको छ । काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित “पत्रकारितामा पद्मरत्न तुलाधरको योगदान” विषयक कार्यक्रममा उहाँले सञ्चार क्षेत्रमा खेल्नुभएको भूमिका विषयमा चर्चा गरिएको हो ।  
उहाँले २०१४ सालमा नेपालभाषा पत्रिकाबाट पत्रकारिता यात्रा शुरु गरेका थिए । सो पत्रिका नेपाली भाषाको पहिलो दैनिक पत्रिका थियो । शुरुमा उहाँले राष्ट्रिय समाचार समितिबाट प्रकाशित हुने समाचार बुलेटिनको भाषा अनुवाद गर्थे । त्यसपश्चात बालकुमारीमा मदन प्रिण्टिङ प्रेस चलाएर पत्रिका सम्बन्धिको सम्पूर्ण काम थाले । पत्रिका सम्पादन गर्ने देखि लेख छपाई र पत्रिकालाई बजारसम्म पु¥याउने काम उहाँ एक्लैले गरे । त्यसपछि वामपन्थीहरुको पत्रिका रातो युगधाराको सम्पादक भई तुलाधरले पञ्चायती व्यवस्थाविरुद्ध नेपाली भाषामा निरन्तर रुपमा स्तम्भ लेख्न शुरु गरे । 
बहुआयामिक व्यक्तित्वको छवि बनाएका तुलाधरले कार्यक्रममा फरक क्षेत्रका अनुभव सुनाए । सोहि क्रममा उहाँले अभिव्यक्तीको सशक्त माध्यम नै आँसु भएको दाबी गरे । तत्कालिन राष्ट्रिय पञ्चायतमा बहुदलीय प्रजातन्त्रको लागि रोएको स्मरण गर्दै उहाँले आँसु नै सदनमा बहसको विषय बनेको बताए । “मैले हजारौं ठाउँमा सार्वजनिक भाषण गरें । कहिले केपी ओलीको आग्रहमा दमक पुग्थें कहिले मदन भण्डारीसँग ओखलढुङ्गा । किसानको दुःखमा रोएँ, अपांगहरु माझ रोएँ ।” कार्यक्रममा भावुक बनेर तुलाधरले विगतलाई स्मरण गरे । 

कार्यक्रममा मन्तव्य राख्नुहुँदै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ


हुन पनि महेन्द्रकालीन व्यवस्थामा राष्ट्रिय पञ्चायतका सदस्य तुलाधर रोएको विषय त्यो समयमा पनि समाचार बनेको थियो । उहाँले सदनमा भाषण गर्ने क्रममा बगाएका आँसुलाई लिएर राजनीतिज्ञ रुपचन्द्र विष्टले सदनमा रुलिङ गराउन माग समेत गरेका थिए । पद्मसुन्दर लावती, सूर्यबहादुर थापादेखि कतिपय नेताले तुलाधर सदनमा रोएर भाषण गरेको विषयलाई महत्वका साथ हेरेका थिए । 
कार्यक्रममा तुलाधरले पत्रकारिता क्षेत्रमा दिनुभएको योगदानलाई लिएर परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, पूर्वमन्त्री रघुजी पन्त, मल्ल के सुन्दर र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले चर्चा गरे । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पद्मरत्न तुलाधर पत्रकारिता क्षेत्रका आफ्ना गुरु भएको बताए । पञ्चायती व्यवस्थाविरुद्ध प्रकाशित पत्रिकाहरु विभिन्न प्रेसबाट संकलन गरेर जेलमा रहेका राजबन्दीहरु सम्म पु¥याउने काम श्रेष्ठले पद्मरत्न तुलाधरमार्फत नै गर्थे । सोही क्रममा उहाँबाट धेरै सिक्ने अवसर मिलेको बताए । पद्मरत्न तुलाधरको प्रखर वक्तृत्वको चर्चा गर्दै उहाँले तत्कालिन अवस्थामा मदन भण्डारी र पद्मरत्न तुलाधरको भाषण विचार उत्तेजक भएको पनि सुनाए । “नेपालमा दुई जना नेता मात्र यस्ता छन्, जसको भाषण र भाषणको रेकर्ड टेप सुन्न हजारौं जनता लालायित भए । ती मदन भण्डारी र पद्मरत्न मात्र हुन् । यिनको भाषण सुनेर हजारौं जनता जागरुक भए । जसले हजारौंमा तेज गतिले वैचारिक प्रवाह गर्न सके ।” कार्यबहाक अध्यक्ष श्रेष्ठले सुनाए ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ


त्यस्तै, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले लोकतान्त्रिक आन्दोलन र भाषिक समानताको लागि तुलाधरले मिसन पत्रकारिता थालेको स्मरण गरे । तुलाधर आफैले एक रुपैयाँ नलिइकन वर्षौंसम्म सम्पादकीय लेख्ने, राससको समाचार भाषा अनुवाद गर्ने, छाप्नको लागि अक्षर कम्पोजदेखि बजारसम्म पु¥याउने काम एक्लैले गर्ने गरेको स्मरण गरे । 
अर्का वक्ता मल्ल के सुन्दरले पद्मरत्न तुलाधर फरक विधामा एकैसाथ कलम चलाउन सक्ने अद्भुद क्षमतावान भएको बताए । पञ्चायती व्यवस्थाविरुद्ध, लोकतान्त्रिक मूल्य र मान्यताका लागि उहाँले पत्रकारिताबाट परिवर्तन ल्याउने क्षेत्रमा योगदान दिएको विषयबाट आजको पुस्ताले सिक्नुपर्ने खाँचो औंल्याए । 


कार्यक्रममा मन्तव्य राख्नुहुँदै नागरिक अगुवा मल्ल के सुन्दर



पूर्वमन्त्री रघुजी पन्तले पद्मरत्नको पत्रकारितामा प्रखरतासँगै हास्यव्यंग्य लेख्न सक्ने क्षमतालाई प्रशंसा गरे । उहाँले प्रजातन्त्र, मानवअधिकार र नागरिक अधिकारका लागि निर्वाह गरेको योगदानलाई पनि कदर गर्नुपर्ने विचार राखे ।
सोही अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले समावेशी पत्रकारिता, मातृभाषाको पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा तुलाधरको भूमिकाले पत्रकारलाई सदैव प्रेरणा दिने बताए ।






पद्मरत्न तुलाधरको यही भदौ १६ गते भिमरथारोहणको अवसरमा विविध कार्यक्रम हुँदैछ । उहाँलाई भदौ ३० गते भव्य कार्यक्रमकाबीच नागरिक अभिनन्दन गरिने भएको छ । मूल कार्यक्रम अगाडी करिव एक दर्जन कार्यक्रमको आयोजना गरी उहाँले फरक क्षेत्रमा पु¥याउनु भएको योगदानलाई स्मरण गरिरहेको हो । सोही क्रममा पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिको आह्वान तथा नेवाः पत्रकार राष्ट्रिय दबूले भाद्र २ गते कार्यक्रम गरेको छ । भाद्र १ गते उहाँसँग मानवअधिकार सम्बन्धित कार्यक्रम भएको थियो भने अन्य बाँकी कार्यक्रमलाई भदौ महिनाभर सम्पन्न गरिसक्ने पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिले जनाएको छ ।

No comments:

Post a Comment