Sunday, December 29, 2019

पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण वहादुर श्रेष्ठको जन्म जयन्ती मनाउन सुरु


Picture Courtesy: Newa Suchana Kendra

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण वहादुर श्रेष्ठको जन्म जयन्ती मनाउने परम्पराको थालनी भएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा आइतवार ललितपुरको मानभवनमा सत्यनारायण वहादुर श्रेष्ठको १ सय ४ औं जन्म–जयन्ती मनाएको हो ।
आयोजक नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्य, बरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनिल महर्जन, सचिव केके मानन्धर लगायत नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, सत्यनारायण वहादुर श्रेष्ठकी छोरीले सत्यनारायण वहादुर श्रेष्ठको सालिकमा माल्यार्पण तथा पुष्पअर्पण गरेर श्रद्धा सुमन व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको कर्म र योगदानको कदर होस् र पत्रकारिता क्षेत्रमा देखिएका अन्याय अन्त्यका लागि नेतृत्व गर्ने श्रेष्ठप्रति न्याय होस् भनेर यसप्रकारको कार्यक्रमको आयोजना गरेको जानकारी आयोजक नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले बताए ।
नेवाः पत्रकार राष्ट्रिय दबूका सचिव केके मानन्धरले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सांगठनिक शुरुवात गरेका सत्यनारायण वहादुर श्रेष्ठको नाम उल्लेख नगरी संस्थापक अध्यक्षका रुपमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गर्दै राष्ट्रिय आमसंचार प्रशिक्षण प्रतिष्ठान समेत गठनको तयारीले इतिहास मेटिने चिन्ता बढेको जिकिर गरेका छन् ।
सरोकारवाला सबैले विसं.२००८ सालमा पत्रकार संघ स्थापना गरी पत्रकारहरुको एकताको अभियान अगाडि बढाएका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको नाम मेट्ने प्रयासको आफूहरुले विरोध गर्दैआएको सचिव मानन्धरले बताएका छन् ।
नेवाः पत्रकार राष्ट्रिय दबूले सशक्त रुपमा सत्यनारायण वहादुर श्रेष्ठको नाम, काम र योगदानको कदर गर्दै यो ऐतिहासिक तथ्य “नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुन्” भनेर राज्यले, नेपाल पत्रकार महासंघ तथा आम पत्रकारिता जगतले मान दिनुपर्ने आवाज उठाउँदै आएको दावी पनि नेवाः पत्रकार राष्ट्रिय दबूले गरेको छ ।
नेपाल सरकारले कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रतिष्ठान गठनको योजना अगाडि बढाएकोमा व्यापक विरोधपछि कृष्णप्रसाद भट्टराईको नाम हटाएर यो प्रतिष्ठान गठन गर्ने कार्य अगाडि बढाएपनि अझै सत्यनारायण बहादुर श्रेष्ठको नाम उल्लेख गर्न–गराउन नसकेको पनि अधिकांश वक्ताहरुको भनाइ छ ।
नेपालमा राणाशासन समाप्त भएपछि संघ–संस्थाहरु गठनको लहरमा पत्रकारहरुको सुविधा, हक–हितको संरक्षण लगायतका विषय केन्द्रीत भइ पत्रकारहरुलाई संगठित गर्न विसं.२००८ सालमा नेपाल टुडेको सम्पादक सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको नेपाल पत्रकार संघको गठन भएको थियो । यो नेपाली पत्रकारहरुको पहिलो संघ मानिएको छ ।
नेपाल पत्रकार संंघको पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघको दोस्रो सभा भयो ।
विसं.२००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघको पुर्नगठन गरेको इतिहासको दस्तावेजलाई पनि नेवाः पत्रकार राष्ट्रिय दबूले प्रष्टाएको छ ।

More Pictures:















११४० पोहेलाथ्व तृतीया (१३ पुस, २०७६ आइतबार) 
News Courtesy: imagekhabar.com

No comments:

Post a Comment