Monday, November 30, 2020

 शताब्दी पुरुषलाई मातृभाषाको चिन्ता

१५ मंसीर । केके मानन्धर

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालमा बोलिने भाषाहरुलाई संरक्षण गर्नुपर्ने बताए । नेवाः पत्रकार राष्ट्रिय दबूमा आबद्ध पत्रकारहरुसँग गरिएको अन्र्तक्र्रिया कार्यक्रममा जोशीले भाषा संरक्षणमा चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराए । 

देशको पहिचानसँग सम्बन्धित भाषा बचाउनको लागि राष्ट्र भाषालाई अनिवार्य रुपमा संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो । ‘पाली भाषा र संस्कृत भाषा अहिले मृततुल्य छ । यसको अर्थ करिव मरिसकेको भन्ने हो ।’ शताब्दी पुरुष जोशीले चिन्ता व्यक्त गरे । त्यस्तै, जोशीले आआफ्ना घरमा नानीहरुसँग मातृभाषाबाटै कुराकानी गर्न आग्रह पनि गरे । आफ्नै रहनसहन, चाड तथा जात्रापर्वबारे सन्ततीलाई बुझाउन सके मात्र नेपालको मौलिक पहिचान जिवित रहने वास्तविकता हो । 


२०६८ सालको जनगणना बमोजिम नेपालमा एक सय २३ प्रकारका भाषाहरु छन् । सोही तथ्यांकमा ३५ प्रतिशत नेवारलाई मातृभाषा बोल्न नआउने उल्लेख गरिएको छ । यसको अर्थ राजधानी जस्तो सुुगम ठाउँमा बसोबास गर्ने सचेत रैथानेले पनि मातृभाषालाई छोड्दै गएको देखिन्छ । एक त फेसनको रुपमा आआफ्ना मातृभाषालाई बिर्सिएर दोस्रो र तेस्रो भाषा अंगालेको हुनाले नेपालमा भाषिक विविधतामा संकट पैदा भएको देखिन्छ भने सरकार कै अस्पष्ट भाषा नीतिको कारणले पनि भाषा संरक्षणमा समस्या भएको हो । 

२०७२ मा जारी भएको नेपालको संविधानको प्रस्तावनामै बहुभाषिक, बहुजातीय तथा बहुधार्मिक देश उल्लेख छ । तर संविधानको भाग १ खण्ड ७ (१) मा सरकारी कामकाजको भाषाको रुपमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा मात्र उल्लेख छ । खण्ड ७ (२) मा प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्नसक्ने अधिकार प्रत्यायोजन गरिएको छ । र ७ (३) मा भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिस बमोजिम हुनेछ भन्ने उल्लेख छ । तर विडम्बना भाषा संरक्षणको लागि आयोग बनाइए पनि भाषा आयोगको प्रभावकारीमा प्रश्नचिन्ह छ । त्यस्तै संघीयता कार्यान्वयनसँगै प्रदेश नं. २ बाहेक अन्य प्रदेशमा कानुनको औचित्य पुष्टि गर्न गाह्रो भइरहेको वास्तविकता हो । त्यहि भएर पनि मातृभाषा छोड्नेहरुको लर्को बढ्दो छ । 

यति भइरहँदा स्थानिय सरकार अन्तर्गत काठमाडौं महानगरले भाषा संरक्षणको सवालमा हालै गरेको पहलकदमी स्वागतयोग्य छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा ३ तहका सरकार मध्ये काठमाडौं महानगरपालिकाले भाषा क्षेत्रमा उदाहरणीय काम थालेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार प्रयोग गरी भाषा, संस्कृति र ललितकला संरक्षण र विकासमा प्रयास थालेको हो । स्थानिय पाठ्यक्रम तयार गरी सम्पदा, संस्कृति तथा स्थानिय भाषालाई विद्यायलस्तरमा पढाउने प्रयास भएको देखिन्छ । यसको प्रभावकारी कायान्वयन पक्ष भने हेर्नै बाँकी छ ।   

सरकारले २०७८ को जनगणनाको लागि तथ्यांक संकलन गरिरहेको छ । सोही सन्दर्भमा पनि शताब्दी पुरुष जोशीले नेपालको मौलिक पहिचान बचाउनको लागि जनगणनामा आउने अधिकारीलाई सत्यतथ्य विवरण उपलब्ध गराउन आम नेपालीमाझ आग्रह गरे । आआफ्नै मातृभाषा, धर्म तथा थातथलो सम्बन्धीको स्पष्ट विवरण उल्लेख गराउन सके सर्वस्वीकार्य तथ्यांक सार्वजनिक हुने जोशीको मत छ । जनगणनाको समयमा हचुवाको भरमा धर्म, भाषा, समुदाय तथा अन्य विवरण उल्लेख गरिँदा तथ्यांकमा समस्या हुने देखिन्छ । समुदाय सचेत भएमात्र तथ्यांकको परिणाम स्पष्ट हुने तथ्यांकविद्को परिचय समेत बनाइसकेका जोशीले दाबी गरे । 


नेवाः पत्रकार राष्ट्रिय दबूको कोडिभ– १९ सचेतना कमिटीले विभिन्न क्षेत्रका विज्ञसँग केहि समय यतादेखि अन्र्तक्र्रिया कार्यक्रम गर्दै आएको छ । सोही क्रममा शताब्दी पुरुष सत्यमोहन जोशीसँग २५ औँ कार्यक्रम गरेको हो । दबूका केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले सञ्चालन गरेको कार्यक्रमलाई गोरखापत्र दैनिकमा आवद्ध पत्रकार प्रजित शाक्यले संयोजक गरेका हुन् । कमिटीका अन्य सदस्यहरु मध्ये रचना श्रेष्ठ, मिना बज्राचार्य, तेजनारायण महर्जन, अनुप प्रधान र हसना लवजूले साप्ताहिक रुपमा कार्यक्रम गरिरहेका छन् । 

Photo Courtesy: subhaviyan/facebook

No comments:

Post a Comment