Monday, February 22, 2021

मातृभाषा पत्रकारिताको विकासमा समुदायकै सहकार्य हुनुपर्नेमा सरोकारवालाको जोड

 


मातृभाषी पत्रकारको सहकार्यबाट बिग मिडिया हाउस बनाउनुपर्नेमा जोड मातृभाषा माध्यमबाट भइरहेको पत्रकारिता क्षेत्रका विकासका लागि सम्वन्धित मातृभाषी पत्रकार र समुदायको सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित मातृभाषि पत्रकार, संचार उद्यमीहरुले समुदायको विकासको लागि संचार क्षेत्रको विकास हुनुपर्ने र यसको लागि समुदायको सहकार्य हुनुपर्ने विचार राखे । 

नेपालभाषाको दैनिक पत्रिका नेपालभाषा टाइम्सका सम्पादक वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले नेपालभाषा पत्रकारिता क्षेत्रमा व्यावसायिकताको विकास गर्नुपर्नेमा जोड दिनुभयो । अहिले भाषा सेवाको भावनाको भरमा नेपालभाषा पत्रकारिता क्षेत्र अघि बढ्दै गरेकोमा आर्थिक पक्षलाई पनि जोडेर अघि बढ्न सक्नुपर्ने विचार वरिष्ठ पत्रकार मानन्धरले राख्नुभयो । ‘भाषाको सेवा गरौं भनेर नै नेवाः नेवाः संचारमाध्यम र नेवाः पत्रकारहरु अहिले सक्रिय छन्, तर यसमा लाखौंको लगानी भइरहेको छ । लगानी र प्रतिफलको लागि पनि योजना बनाउन सक्नुपर्छ’ मानन्धरले भने । नेपालभाषा पत्रकारिता क्षेत्रको ईतिहास निकै स्वर्णिम रहेको भन्दै मानन्धरले वर्तमान समयमा समस्या रहेपनि आउँदा दिनलाई फेरी पनि स्वर्णिम बनाउन सकिने अवस्था रहेको दावी गर्नुभयो ।

पत्रकार दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले नेपालभाषाको पत्रकारिता क्षेत्रको विकासको लागि दबू क्रियाशील रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । करीब तीन वर्ष अघि पत्रकार दबूले नै २६ वटा भाषाभाषीको उपस्थितीमा मातृभाषा पत्रकारिता सम्मेलन गरेको सम्झिँदै अध्यक्ष बज्राचार्यले सहकार्य र सरसल्लाहबाटै यस क्षेत्रका समस्याको पहिचान गरी समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो । दबूका उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यलाई सम्झिँदै नेपालको पत्रकारिता क्षेत्रको विकासमै नेवाः पत्रकारहरुको विशिष्ट योगदान रहेको दावी गर्नुभयो ।

त्यस्तै नेवाः टिभि एचडिका अध्यक्ष नवीन जोशीले दर्शकको संख्या र बजारको सिमितताका बीच मातृभाषामा टेलिभिजन च्यानल संचालनमा समस्या रहेको बताए । मातृभाषा माध्यमबाट संचालन हुने संचारमाध्यमलाई राज्यले मूलधारका संचारमाध्यमसँगै राखेर हेर्न नमिल्नेमा जोड दिनुभयो । एफ एम रेडियोमा नेपालभाषाका प्रथम समाचारवाचक साथै राष्ट्रिय प्रसारणमा टेलिभिजनमा प्रथम कार्यक्रम संचालक बिराजकाजी राजोपाध्यायले मातृभाषा पत्रकारिता क्षेत्र विगतको तुलनामा अहिले धेरै हदसम्म व्यावसायिक बनेको दावी गर्नुभयो । ‘विगतमा यो क्षेत्रमा कुनै किसिमको आर्थिक उपार्जनको बारेमा सोच्न सकिने अवस्था थिएन, तर आज यसै क्षेत्रमा काम गर्दै परिवार पाल्न सकिने अवस्था श्रृजना भएको छ ।’ सबै मातृभाषी संचार गृह र संचारकर्मीको सहकार्यमा यस क्षेत्रलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता राजोपाध्यायले औंल्याउनुभयो । राष्ट्रिय प्रसारणमा पहिलो महिला टेलिभिजन कार्यक्रम प्रस्तोता मीना बज्राचार्यले आफ्नो अनुभव सुनाउँदै विगतका दिनमा जस्तै अहिलेपनि महिलालाई संचार क्षेत्रमा सक्रिय रुपमा अगाडी बढ्न समस्या रहेको बताए ।


लहना साप्ताहिकका व्यवस्थापक साथै पत्रकार दबूका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठले नेपालभाषाका संचार गृहहरु एकिकृत भई बिग मिडिया हाउसको परिकल्पनामा जानुपर्ने सुझाव दिनुभयो । ‘नेपालभाषाबाट पत्रकारिता शुरु भएको सय वर्ष बढि भइसक्यो, सय वर्षको ईतिहास बनाइसकेका हामीले आज आएर बिग मिडिया हाउसको शुरुवात किन नगर्ने ?’ श्रेष्ठले भन्नुभयो । नेपालभाषाको पहिलो समाचार पोर्टल नेपालमण्डल डट कमका सदस्य अस्मित मल्लले नेपालभाषा माध्यमबाट संचालित अनलाइन माध्यमहरुले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सरकारबाट उपलब्ध सुविधा प्राप्त गर्नका लागि आवश्यक मापदण्ड पूरा गर्नुपर्नेमा ध्यान दिनको लागि मल्लले जोड दिनुभयो ।

कार्यक्रममा दबूका निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन, नेपालभाषाका प्रथम सिने पत्रकार साथै दबूका सल्लाहकार विजयरत्न तुलाधर, वरिष्ठ पत्रकार साथै दबूका सल्लाहकार रमेशकाजी स्थापित, विभिन्न संचारमाध्यममा आवद्ध नेवाः पत्रकार र पत्रकार दबूका केन्द्रीय साथै जिल्ला पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment