Thursday, December 25, 2025

सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान हस्तान्तरण गरिंदै

 

पुस १० गते । केके मानन्धर । 

पत्रकारिता क्षेत्रमा योगदान गरेका सञ्चारकर्मीद्वय प्रकृति अधिकारी र रामकृष्ण कर्माचार्य सम्मानित हुनेभएका छन् । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११० औं जन्मजयन्तीको अवसरमा हुने कार्यक्रममा उहाँहरु सम्मानित हुन लागेका हुन् । नेवाः पत्रकार राष्ट्रिय दबूले आउँदो पुस १२ गते शनिबार ललितपुर मानभवनस्थित आदर्श विद्या मन्दिरमा तय गरेको कार्यक्रममा सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार ११४६ गोरखापत्र दैनिकका सहसम्पादक प्रकृति अधिकारीलाई दिने जनाइएको छ । अधिकारीलाई नगद राशी २५ हजार समेत हस्तान्तरण हुनेछ । त्यस्तै सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान ११४६ बाट श्रेष्ठका सहकर्मी वरिष्ठ पत्रकार रामकृष्ण कमाचार्यलाई सम्मानित गर्ने निर्णय भएको पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जनाए । उहाँहरुले पत्रकारिता मार्फत समतामूलक समाज निर्माण र सकारात्मक परिवर्तनको लागि खेल्नुभएको भूमिकालाई मूल्यांकन गर्दै सम्मान गर्न लागेको बताइएको छ ।

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको रुपमा श्रेष्ठलाई स्थापित गर्न पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दैआएको कार्यक्रम संयोजक राजु नापितले बताए । हुनपति श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाली पत्रकारहरुकै सबभन्दा पहिलो पेशागत संगठनको रुपमा नेपाल पत्रकार संघ गठन भएको थियो । समग्र पत्रकारलाई संगठित गर्ने उद्देश्यले संघ गठन भएको एक वर्षपछि २००९ वैशाख २८ गते श्रेष्ठकै नेतृत्वमा संघ पुनर्गठन भएको इतिहास छ । नेपाल टुडेका सम्पादक समेत रहेका श्रेष्ठको नेतृत्वमा गठन भएको पत्रकार संघलाई कालान्तरमा नेपाल पत्रकार महासंघ बनाएको हो । तर कारणवश २०१२ चैत १६ गते पुनर्गठन गरिएको महासंघमा नेपाल पुकारका सम्पादक एवं सन्त नेता कृष्णप्रसाद भट्टराई उपाध्यायको नाम उल्लेख रहेको छ ।

पत्रकार राष्ट्रिय दबूले सोही दिन तेस्रो मिडिया कप फुटसल प्रतियोगिता ११४६ गर्ने भएको छ । फुटसल प्रतियोगितामा उपाधि जितेकाहरुलाई समेत पुरस्कृत गरिने फुटसल प्रतियोगितातर्फका संयोजक प्रजित शाक्यले जनाए । पत्रकार, कलाकार तथा अन्य पेशागत संघसस्थामा आवद्ध रहेका खेलप्रेमीहरुको सहभागितामा तीन वर्षदेखि फुटसल प्रतियोगिता हुँदैआएको छ ।

No comments:

Post a Comment