Wednesday, May 16, 2018

प्रथम मातृभाषा (राष्ट्रभाषा) पत्रकारिता सम्मेलनको काठमाडौँ घोषणापत्र

नेपालमै पहिलोपटक २६ वटा आदिवासी जनजाति पत्रकारहरूको सहभागितामा ‘सङ्घीय संरचनामा सञ्चार – मातृभाषा पत्रकारिताको आधार’ मूल नाराका साथ नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घसँग  संयोजन गरी नेसं ११३८ अनलाथ्व पारु (सन् २०१८ मे १६) का दिन नेपाल पर्यटन बोर्ड, काठमाडौँमा आयोजना गरेको मातृभाषा (राष्ट्रभाषा) पत्रकारिता सम्मेलनका हामी सहभागीहरू,
नेपालमा विगत ९३ वर्षदेखि निरन्तरता पाइरहेको मातृभाषा पत्रकारिताको लहर आगामी दिनमा थप सशक्त बनाउँदै लानुपर्ने आवश्यकता अनुभव गर्दै,
करिब एक शताब्दी लामो मातृभाषा पत्रकारिता राज्यको आँखामा सकारात्मक संरक्षकत्व, प्रोत्साहन, प्राथमिकताको विषयवस्तु हुन नसकेका कारण परिपक्व, सुविधायुक्त, उर्वर र विकसित हुन नसकेको तथ्यलाई आत्मसात् गर्दै,
बहुजातीय, बहुभाषिक र बहुधार्मिक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपर्ने र त्यसको महत्वपूर्ण आधारका रूपमा आदिवासी जनजाति समुदायबीच अभ्यासमा रहेको मातृभाषा पत्रकारितालाई थप सशक्त, उपलब्धिमूलक, व्यावसायिक र सिर्जनशील बनाउन बहुभाषिक पत्रकारिताका लागि समावेशी सञ्चार नीतिको अविलम्ब कार्यान्वयन गर्दै निम्नलिखित कदमहरू चाल्नुपर्ने निष्कर्षमा पुगेका छौँ ः
– नेपाली सञ्चार जगत्मा आदिवासी जनजाति पत्रकारिताको न्यून उपस्थितिलाई नीति निर्माण तहले समस्याको रूपमा आत्मसात् गर्नुपर्ने र यसको समाधानका लागि बहुआयामिक सकारात्मक पहल अगाडि बढाउनुपर्ने,
– हाल गोरखापत्र दैनिकले अभ्यास गर्दै आएको बहुभाषिक पत्रकारितालाई समावेशी पत्रकारिताको एउटा नमूनाका रूपमा लिएर प्रत्येक प्रदेशको जनसङ्ख्या, भाषा, सांस्कृतिक बाहुल्यताका आधारमा मातृभाषी सञ्चारकर्मीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुका साथै सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिता गर्दै आएका जनशक्तिको पेशागत सुनिश्चितता कायम गर्नुपर्ने,
– नीति निर्माण तहमा आदिवासी जनजाति पत्रकारको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने,
– नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने,
– गैरमातृभाषी सञ्चार क्षेत्रमा संलग्न आदिवासी जनजाति सञ्चारकर्मीहरूलाई यस क्षेत्रमा परिचालन हुन प्रोत्साहित र आकर्षित गरिनुपर्ने,
– जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने,
– पत्रकारितालाई समानता र सामाजिक न्याय, पहिचानका लागि आदिवासी जनजातिले गर्दै आएको आन्दोलनको अभिन्न अङ्गका रूपमा आत्मसात् गरिनुपर्ने,
– आदिवासी जनजाति सञ्चार पहलका लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने,
– राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने,
– राज्यले राष्ट्रिय स्तरमा प्रत्येक वर्ष मातृभाषा पत्रकारिता दिवस आयोजना गर्नुपर्ने ।
मातृभाषा पत्रकारिताको विकासले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्चतम अभ्यास गराउने र नेपाली पत्रकारिताको परिभाषालाई व्यापकता प्रदान गर्ने भएकोले आमसञ्चारमा सबैको पहुँच सुनिश्चित गर्न उल्लेखित बुँदाहरू कार्यान्वयनमा ल्याउन सम्बद्ध निकायलाई आह्वान गर्दछौँ ।
श्रीकृष्ण महर्जन
अध्यक्ष
नेवाः पत्रकार राष्ट्रिय दबू

No comments:

Post a Comment